नेताका सन्तानको आलिसान जीवनशैलीविरुद्ध सामाजिक सञ्जालमा जेनजी पुस्ताको अभियान, भ्रष्टाचारविरुद्ध संसद भवनमा प्रदर्शनको तयारी
काठमाडौँ । यतिबेला सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सर्वसाधरणमा आक्रोश बढाइरहेको छ । फलस्वरूप टिकटकलगायतका सामाजिक सञ्जालमा जेनजी पुस्ताले नेताका सन्तानको आलिसान जीवनशैली बाहिर ल्याउने अभियान चलाएका छन् ।
विशेष गरेर जेनजी पुस्ताले भ्रष्टाचारले सीमा नाघेको भन्दै यस्तो अभियान थालेका हुन्। अहिले सामाजिक सञ्जाल टिकटकमा नेताहरुका सन्तानको महंगो र आलिसान जीवनशैली ‘एक्सपोज’ गर्दै उनीहरुले जनताको कर दुरुपयोग गरेको भनेर नेपो बेवी एक्सपोज अभियान थालेका छन्।
उनीहरूले पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रहरी प्रमुख लगायतका सन्तानको जीवनशैलीमाथि पनि प्रश्न गरेका छन् ।
यसमा कलाकार तथा कन्टेट क्रियटरहरुले पनि साथ दिइरहेका छन्। यही समूहले सोमबार सामाजिक सञ्जालमाथि नियन्त्रण र भ्रष्टाचारको विरोधमा काठमाडौंमा प्रदर्शनको लागि आह्वान गरेका छन्। बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शनको तयारीमा उनीहरु रहेका छन् ।
२१ भदौ २०८२, शनिवार २३:४८ बजे प्रकाशित












