बयालपाटा अस्पतालका लागि ८३ पदमा करार जनशक्ति माग
धनगढी। अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालका लागि करार सेवामा विभिन्न पदमा जनशक्ति माग गरिएको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले बुधबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।
प्रदेश सरकारको मन्त्रिपरिषदबाट स्वीकृत अस्थायी दरबन्दीअन्तर्गत कुल ८३ पदमा करार सेवाबाट पदपूर्ति गर्न लागिएको हो। मेडिकल अधिकृत ५ जना, डेन्टल सर्जन, अस्पताल व्यवस्थापक, नर्सिङ अधिकृत १/१ जना, स्टाफ नर्स ११ जना, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापी, फार्मेसी, सर्भिलेन्स, रेडियोग्राफीलगायतका विभिन्न स्वास्थ्य सेवा समूहमा पदपूर्ति गरिने भएको हो।
त्यस्तै अहेव, अनमी, फार्मेसी सहायक, रेडियोग्राफर, ल्याब टेक्निसियन, डेन्टल असिस्टेन्ट, एनेस्थेटिक सहायक लगायत कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, सरसफाइकर्मी, सुरक्षा गार्डलगायतका विविध पदहरूमा पनि जनशक्ति माग गरिएको छ। आवेदन दिने अन्तिम मिति २०७२ साउन २८ गते तोकिएको छ।
आवेदन सामाजिक विकास मन्त्रालयमा कार्यालय समयभित्र वा इमेल (mosd.health@sudurpashchim.gov.np) मा PDF फारम्याटमा पेश गर्न सकिनेछ। आवेदकले आफ्नो योग्यता, नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र, व्यवसायीक परिषदको दर्ता र नवीकरण प्रमाणपत्रसहित राजस्व बुझाएको भौचर अनिवार्यरूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
२२ साउन २०८२, बिहीवार १२:०७ बजे प्रकाशित














