गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौं । ठमेल  र महाराजगन्जबाट गुण्डागर्दीमा संलग्नहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् ।

चक्रे मिलनलाई प्रहरीले  महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ गरेको हो  । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा गुण्डागर्दीमा संलग्नहरूलाई  बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।

पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।


१६ साउन २०८२, शुक्रवार ०९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु