गलत काम गरेकाे प्रमाणित भए राजनीतिमा देखा पर्दिनँ -गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूबाट गलत काम भएको प्रमाणित भए राजनीतिमा देखा नपर्ने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री रमेश लेखककाे यो अभिव्यक्ति आएको हो । शनिबार धनुषामा नेपाली कांग्रेसका कार्यकर्तासँगको छलफलका क्रममा उनले भने, ‘जीवनभरि राजनीति गर्दा टाउको निहुरिने काम गर्दिनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ।’
गृहमन्त्री लेखकले यस विषयमा मन्त्रालयले आजै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका छन् । उनले भने, “केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुई-तीन दिन किन चुप लागेर बसेको थिएँ भने, यो कहाँबाट, कसरी र किन भइरहेछ भन्ने बुझ्दै थिएँ । अब यसबारे धेरै कुरा थाहा पाइसकेको छु ।”
१० जेठ २०८२, शनिवार १६:४६ बजे प्रकाशित













