पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको छ : प्रवक्ता अधिकारी

काठमाडौँ । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीका केन्द्रीय  प्रवक्ता विश्व अधिकारीले बताएका छन् ।

बुधबार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए। उनका अनुसार  आत्महत्याका दैनिक २० वटा घटना र जबर्जस्ती करणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको छ।

२०८१ साउनदेखि कार्तिक सम्म देशभर १९ हजार ४९८ वटा मुद्दा  दर्ता भएका छन् । तर, गत वर्ष सो अवधिमा १८ हजार ९९८ मुद्दा दर्ता भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अपराधको ग्राफ बढेको प्रवक्ता अधिकारीले जानकारी दिए।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घटनाहरु बढेको उनको भनाई छ।

एसएसपी अधिकारीले कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएकोमा यो वर्ष १९२ मुद्दा दर्ता भएको बताए। त्यस्तै जबर्जस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षको सोही अवधीमा ८०९ वटा मुद्दाहरू दर्ता भएका थिए। जबर्जस्ती करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरू दर्ता भएकोमा यस वर्षको सोही अवधीमा बढेर १८६ वटा पुगेको छ।

संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन्। लागुऔषधसम्बन्धी मुद्दाहरू गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ। सामाजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प अधिकारीले बताए।


३ पुस २०८१, बुधवार २३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु