देशभर मनसुनी वायुको प्रभाव,धानबालीमा असर पर्न सक्ने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा कृषि क्षेत्र विशेष गरेर धानबालीमा असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीबाट प्रवाह हुने  जलवाष्पयुक्त हावाको प्रभावको कारण आज( मङ्गलवार )दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई  स्थानमा अति वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेस प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधवारदेखि देशभर आंशिक देखि साधरणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन– चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।  


८ असोज २०८१, मंगलवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु