पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन्।
श्रेष्ठले लागुऔषध बिक्री गरेको पाइएकाले बिहीबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई लागुऔषध प्रयोगकर्ताले दिएको जानकारीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार एक महिनाअघि लागुऔषध सहित पक्राउ परेका व्यक्तिले दिया फार्मेसीबाट उक्त लागुऔषध किनेको भन्ने जानकारी दिएकाले डा श्रेष्ठलाई पक्राउ गरिएको हो । दिया फार्मेसी ढाकाकुमार श्रेष्ठको नाममा रहेको छ ।
विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए ।
उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेकाले दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।
२८ भदौ २०८१, शुक्रवार ०६:२९ बजे प्रकाशित













