संविधान संशोधन कुनै पार्टीको चाहना र इच्छाले हुने कुरा होइन : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले कुनै पार्टीको चाहनाले मात्रै संविधान संशोधन नहुने बताउँदै बताएका छन् । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संविधान संशोधन सबै दलको सहमतिमा हुने बताएका हुन् । उनले पहिलो चरणमा संविधानको समीक्षा गर्ने बताए।

‘संविधान संशोधन कुनै पार्टीको चाहना र इच्छाले हुने कुरा होइन। यसका चरणहरु छन्। पहिलो चरणमा संविधानको समीक्षा गर्ने, ९/१० वर्षसम्म हामीले प्रयोग गरेको संविधानको समीक्षा गर्छौं, समीक्षाका क्रममा के के कुरा राम्रा भए, कहाँ नेर जटिलता आयो त्यो हेर्छौं, त्यसपछि ती विषयमाथि दलहरुसँग संवाद हुन्छ। सबै दलहरुको बीचमा सहमति खोजेर मात्र संविधानको संशोधन हुन्छ’ उनले भने।

गृहमन्त्री लेखकले काँग्रेस र एमालेको मिलन देशको विशिष्ट परिस्थितिमा हुने गरेको बताए । ‘एमाले र काँग्रेसको मिलन  शान्ति प्रक्रियाका बेला, राजाले निरंकुशता लगाएका बेला काँग्रेस एमाले मिलेर काम गरे। मिलेर नै हामीले अन्तरिम संविधान बनायौं, मिलेर अहिलेको संविधान बनायौं’ उनले भने। उनले काँग्रेस र एमाले मिलेर सुखद परिणाम निकालेको इतिहासले पुष्टि गरेको बताए।

गृहमन्त्री लेखकले अहिले काँग्रेस र एमालेका बीचमा एकदमै सौहार्दता रहेको दाबी गरे। ‘काँग्रेस र एमालेको समीकरण बनेपछि देशमा स्थायित्वको विश्वास बढेको छ’ उनले भने।

‘संघमा सरकार परिवर्तन भइरहने समस्या थियो। संघमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेशहरु अस्थिर हुने समस्या आई रहेको थियो। त्यसलाई समाधान गर्नका लागि पनि काँग्रेस र एमालेको समीकरण बनेको हो। अहिले स्थायित्वका लागि विश्वासको वातावरण बन्दै गएको छ’ उनले भने।

गृहमन्त्री लेखक तीन दिनसम्म कैलाली र कञ्चनपुरमा रहने छन्।


१८ भदौ २०८१, मंगलवार २२:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु