पहिरोमा पुरिएर सात जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा पहिरोमा पुरिएर देशभर सात जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका–३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ ।
यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र सुनमायाँ कुमालको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको हो । पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयबासीहरू मिली निकाल्न जाने क्रममा हिरा नेपाली सहित ३ जना मानिसहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतरा समेतबाट खटिएको टोलीले उद्दार एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।
सो पहिरोमा परेर बेपत्ता भएका एक जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
यसैगरी स्याङ्जाको बिरूवा गाउँपालिका–६ लामाखेत बस्ने ईश्वरी लम्सालको खाली घर शनिबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही गाउँपालिका–६ स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधब शर्मा र उनकै श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् ।
पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२३ असार २०८१, आइतवार १२:०२ बजे प्रकाशित