पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ आलुगैरामा आज बेलुका पौने ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
पहिरोसँगै रुख खसेर राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रूपमा रोकिएको र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको भए पनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ ।
बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।
२२ असार २०८१, शनिवार २०:५० बजे प्रकाशित