मेरो इच्छा विपरीत सरकारमा जानु पर्यो : गगन थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चार कर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै भएको उनले बताए । ‘प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो,’ उनले भने, ‘प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’
थापाले कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसकै बढी रहेको बताए । यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने उनले बताए ।
दुईवटा दल मिल्दै गर्दा कहिलेकाँही सङ्ख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहेपनि सरकारभन्दा बाहिर बसेका नेताहरूले यो सांसदबाटै खबरदारी गर्ने उनले बताए । वर्तमान सरकार सम्पूर्ण रुपमा अल्पमतमा परेको कारण प्रचण्डले मार्ग प्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे ।
२० असार २०८१, बिहीवार १२:४८ बजे प्रकाशित