यस वर्ष डेंगु फैलने जोखिम बढी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । यस वर्ष विगत भन्दा बढी डेंगु संक्रमण फैलन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा भन्दा यो वर्ष बढी वर्षा हुने प्रक्षेपण रहेसँगै डेंगु संक्रमण पनि अघिल्ला वर्षहरूमा भन्दा धेरै बढ्ने आँकलन गर्दै बेलैमा सबै जनाले सतर्कता अपनाउन अनुरोध गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र संक्रमितको संख्या बढ्ने बताए । उनले आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।
गत ६ महिनामा ७२ वटा जिल्लाबाट १ हजार २ सय ४१ जना डेंगुका विरामी फेला परेको मन्त्रालयले उल्लेख गरेको छ। जसमा यो वर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ।
डेंगु हुनबाट जोगिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। डेंगु रोगको मुख्य लक्षणमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेसरी दुख्नु, आँखाको गेडी दुख्नु, बेसरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लग्नु वा बान्ता हुनु पर्छन्।
एक्कासी उच्च ज्वरो आउने, बान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन सुझाव दिइएको छ ।
९ असार २०८१, आइतवार १५:०५ बजे प्रकाशित












