गृहमन्त्रीलाई प्रश्न– लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजिएको हो ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राई बस्ने ठाउँको लोकेशन पत्ता लागिसक्यो भनेर उनलाई भगाउन खोजिएको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत राखेको बताए ।
‘तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिक मध्य एक जना फरार छन् । एक जना गृहमन्त्री छन् । सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेको गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?’ केटाकेटीपन हो या भगाउने नियत हो ?’ उनले देशलाई जीवी राईको लोकेसन नभई जीवी राई चाहिएको शर्माले बताए ।
मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले जीवी राईलाई ल्याउन कठिनाइ भए पनि असम्भव नभएको शर्माले बताए । उनले विगतमा पनि मलेसियाबाट अपराधी पक्राउ गरेर ल्याइएको उदाहरणसमेत दिए ।
सूर्यदर्शन सहकारीका पीडितहरूलाई सर्वोच्च अदालतको प्रवेशमा लगाइएको रोकबारे पनि शर्माले गृहमन्त्रीको नियतमाथि प्रश्न उठाए ।
९ असार २०८१, आइतवार १३:३२ बजे प्रकाशित












