प्रदेश सभामा लडेका सुदूरपश्चिमका एक सय ११ जनाको जमानत जफत

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ३२ सिटका लागि भएको निर्वाचनमा एक सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सदस्यका ८२ जना उम्मेदवारको भने जमानत जफत हुनबाट जोगिएको छ । प्रदेशसभामा एमाले, नेकपा ९माओवादी केन्द्र० लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यहाँ प्रदेशसभा प्रत्यक्षतर्फ डडेलधुरा प्रदेशसभा २ मा एमालेका गजेन्द्रबहादुर शाही जमानत जफत भएको छ । कूल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गरेको निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन् । जमानत जफत हुनेमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीदेखि बाजुराका राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मतबहादुर शाहीसम्म हुनुहुन्छ ।

बाजुरा प्रदेशसभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ । विश्वकर्माले कूल सदर मत २० हजार सात सय तीनमध्ये जम्मा एक हजार ९८ मत मात्रै प्राप्त गरेको छ । सुदूरपश्चिमअन्तर्गत प्रदेशसभाका कूल एक सय ९३ उम्मेदवारमध्ये कैलाली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार चक्रबहादुर चौधरीले सबैभन्दा कम १३ मत प्राप्त गरेको छ ।

कूल २८ हजार दुई सय छ मत सदर भएकामा चौधरीले सबैभन्दा कम मत प्राप्त गरेको थियो । प्रदेशसभा सदस्यमा सबैभन्दा बढी नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन, नेकपा ९एकीकृत समाजवादी०ले तीन र एक जना स्वतन्त्र १ ले निर्वाचनमा जित हासिल गरेका छन् ।


२४ मंसिर २०७९, शनिवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु