सुदूरपश्चिममा गठबन्धनकै सरकार, यी हुन् सम्भावित मुख्यमन्त्री

प्रत्यक्ष र समानुपातिक गरी कुल ५३ सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षमा ३२ तथा समानुपातिकमा २१ सिट छ । यहाँ कांग्रेस र माओवादीले पाएको सिट संख्या हेर्दा सत्ता गठबन्धनका लागि आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ ।

यहाँ कांग्रेसले प्रत्यक्षमा १२ तथा समानुपातिकमा ७ गरी १९ सिट पाएको छ । त्यस्तै माओवादीले प्रत्यक्षमा ८ तथा समानुपातिकमा ३ सिट गरी कुल ११ सिट पाउने देखिन्छ । सरकार गठनका लागि आवश्यक पर्ने २७ सिट कांग्रेस र माओवादीको सिट संख्या जोड्दा ३० हुन आउने हुँदा बहुमतका लागि अरू दलसँग सहकार्य गर्नु नपर्ने देखिन्छ ।

सुदूरपश्चिममा एमालेले प्रत्यक्षमा ३ तथा समानुपातिकमा ७ गरी १० सिट पाउने देखिन्छ । नागरिक उन्मुक्तिबाटीबाट प्रत्यक्ष र समानुपातिक गरि ७ जना,नेकपा एसाट ४ जना, राप्रार स्वतन्त्र १ जना सांसद रहने छन् ।

को बन्ला मुख्यमन्त्री ?
यही गठबन्धनको सरकार बन्ने अवस्था आए मुख्यमन्त्रीका लागि माओवादीबाट खगराज भट्टको सम्भावना बढी छ । चुनावभन्दा पहिले डडेल्धुरामा आयोजना भएको सत्ता गठबन्धनको कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए ।

२०६४, ७० र ०७४ गरी लगातार संघीय निर्वाचनमा देउवासँगै पराजित भएका भट्ट यस पटक देउवाकै सहयोगमा प्रदेशसभामा विजयी भएका छन् । निर्वाचित ८ जनामध्ये भट्ट माओवादीका सबैभन्दा सिनियर नेता हुन् । उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज पनि हुन् ।

काङ्ग्रेसबाटै पनि दाबेदारहरू छन् । भावी मुख्यमन्त्रीको रूपमा हेरिएका अघिल्लो पटक निर्वाचन जितेर संसदीय दलका नेता भएका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावल निर्वाचनमै पराजित भएपछि मुख्यमन्त्रीको दौडमा संख्या कम भएको छ । उनी अहिले पनि सरकारका प्रवक्ता हुन् ।

बहालवाल सामाजिक विकास मन्त्री गोविन्द बोहरा पनि डडेल्धुराबाट पराजित भए । उनलाई स्वतन्त्र उम्मेदवार डा। तारा जोशीले हराएका हुन् । उनी पराजित भएसँगै सम्भावित मुख्यमन्त्रीको अवसर पनि गुमाएका छन् ।

अब कांग्रेसका प्रत्यक्षबाट निर्वाचित ११ जनामध्ये कैलालीबाट प्रदेश सभामा निर्वाचित भएका प्रकाश देउवा, अछामबाट निर्वाचित भएका मेघराज खड्का र कञ्चनपुरबाट निर्वाचित भएका बहादुर सिंह थापा तथा देवानसिंह बिष्टको सम्भावना बढी छ ।

‘कांग्रेस प्रदेश महामन्त्री खड्काले सुदूरपश्चिममा गठबन्धनकै सरकार बन्ने बताउँछन् । गठबन्धनकै सरकार बन्छ हामी सरकारमा मिलेर जान्छौँ’ उनले भने ‘मुख्यमन्त्री कुन दलले पाउने भन्ने बारे शीर्ष नेताहरूले टुङ्गो लगाउनुहुन्छ ।’

यता माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट पनि वर्तमान गठबन्धनकै सुदूरपश्चिममा सरकार बन्ने बताउँछन् । उनले यसबारे १८ गतेपछि छलफल थाल्ने बताए ।

मुख्यमन्त्रीको विषयमा उनले पार्टी र गठबन्धनले गरेको निर्णयलाई नै सङ्केत गरे ।

उनले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारे शीर्ष नेतामा छलफल होला तर, यसअघि नै मुख्यमन्त्री बनाउने भन्दै पार्टीभित्र र गठबन्धनमा पनि सहमति भइसकेको छ ।’

प्रदेश स्तरका नेताहरू यही गठबन्धनले सरकार बनाउन सकिने लक्षण देखिएपछि हौसिएका छन् । तर, केन्द्रीय राजनीतिमा हुने समीकरण हेरफेरको प्रभाव यहाँ पनि पर्ने देखिन्छ । त्यो नभएमा यहाँ माओवादी, कांग्रेस र नेकपा एसमात्रै पनि मिल्ने सम्भावनालाई नेताहरू नकार्दैनन् ।

 

 


२० मंसिर २०७९, मंगलवार १२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु