प्रधानमन्त्री बसेको रिसोर्टमा मतदाताको भीड, पाँच-पाँच हजार दिएको आरोप
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थिर अवधिको अवज्ञा गरेको पाइएको छ । निर्वाचनका लागि गृह जिल्ला पुगेका देउवाले आज यहाँको एक होटेलमा सयौँ कार्याकर्ताहरुलाई बोलाएर प्रभावित पारेको आरोप लगाइएको छ ।
‘मतदाता परिचय पत्र हुनेहरूले आज पाँच पाँच हजार बुझेका छन्’ एक स्थानीले भने ‘यहाँ नेता कार्यकर्ता भन्दा पनि मतदाताहरूलाई रकम दिइएको हो ।’ उनले आफूलाई पनि केही स्थानीयले त्यहाँ जान भनेको र उनीहरुले पाएको रकम समेत देखाएको बताए । निर्वाचन आउन एक दिन मात्र वाकी छ । हिजो रातिबाटै स्थिर अवधि सुरु भइरहेको छ । यस्तो अवस्थामा उम्मेदवारहरूले मतदाता प्रभावित गर्न पाउँदैनन् । तर, डडेल्धुरामा प्रधानमन्त्रीबाटै स्थिर अवधिमा रकम बितरण भएको स्थानीयले लगाए ।
यता मुख्य निर्वाचन मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्ले पनि त्यहाँ भिडभाड भएको जानकारी पाएपछि सुरक्षा निकायलाई त्यस बिषयमा बुझ्न पठाएको बताउँछन् । ‘त्यहाँ भिडभाड भएको भन्दै खबर आएपछि मैले सिडिओ साप मार्फत सुरक्षा निकायलाई खटाउन भनेको छु’ उनले भने ‘अहिले डिएसपी साप नै त्यहि हुनुहुन्छ ।’
प्रधानमन्त्री बसेको होटेलमा भिडभाड रहेको बताउने मुख्य निर्वाचन अधिकृत वाग्लेले पैसा बाढेको भन्ने बिषयमा आफूलाई आधिकारिक कुनै जानकारी नभएको बताए । ‘मैले पनि एक मिडियामा देखेको थिए’ उनले भने ‘त्यस बिषयमा पनि हामी बुझ्छौँ ।’
लगातार छैटौँ पटक सम्म डडेल्धुराबाट निर्वाचित भएका देउवा सातौँ जितको लागि निर्वाचनमा होमिएका छन् । उनी विरुद्ध उनकै पुराना कार्यकर्ता कर्ण मल्ल कांग्रेस बिपीबाट उम्मेदवार भएका छन् । यता सागर ढकाल पनि स्वतन्त्र उम्मेदवार छन् । देउवालाई माओवादी केन्द्रको साथ छ भने मल्ललाई एमाले र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।
२ मंसिर २०७९, शुक्रवार २०:४६ बजे प्रकाशित












