स्थिर समयमा हुँदैछ दल र उम्मेदवारको सूक्ष्म निगरानी

मतदानको ४८ घण्टाअघिको अवधिमा निर्वाचन आयोगले दल र उम्मेदवारको सूक्ष्म निगरानी गरिरहेको छ । हिजो मध्यरातिदेखि स्थिर समय लागू भएको छ । यो समयमा दल र उम्मेदवारलाई प्रचारप्रसारमा रोक लगाइएको छ । प्रचारप्रसार गरेमा तत्काल २५ हजार जरिवना लगाइने आयोगले जनाएको छ ।

स्थिर समयमा दल र उम्मेदवारले मतदातालाई प्रलोभन पार्ने, डर, त्रास र धम्की दिन सक्ने भन्दै विशेष निगरानी गरिरहेको हो । आयोगले निगरानी गर्न नेपाल प्रहरी र अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

मतदानको ४८ घण्टा अघिदेखि उम्मेदवार र दललाई सामाजिक सञ्जालमा पनि प्रचारप्रसार गर्न रोक लगाइएको छ । आयोगका अनुसार सामाजिक सञ्जालबाट मत माग्न र विज्ञापन गर्न पाइने छैन । तोकेको सीमाभित्र रहेर दल र उम्मेदवारले खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन प्रतिवेदन बुझाउन नेपाल प्रहरी र अनुसन्धान विभागलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७ बजेभित्र छिटो जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्रतिवेदन पठाउन भनेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउनेछन् । बन्दसूचीमा ११० जना उम्मेदवार भएमा उक्त पार्टीले २ करोड २० लाखसम्म खर्च गर्न सक्नेछन् । प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

प्रदेशतर्फ २ सय २० सिट रहेकाले सबै उम्मेदवार बन्दसूचीमा रहेको पार्टीले ३ करोड ३ लाख खर्च गर्न पाउनेछन् । दलले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेशसभामा १५ देखि २३ लाख खर्च गर्न पाउने आयोगले सीमा तोकेको छ ।

 


२ मंसिर २०७९, शुक्रवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु