केन्यामाथि नेपालको सहज जित
नेपालले केन्यासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा जित निकालेको छ । बिहीबार नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको हो ।
१३१ रनको सामान्य लक्ष्य पाएको नेपालले सहजरुपमा जित निकालेको हो । नैरवीको जिमखाना क्लब मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले चार बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले अविजित २४ रन बनाए । त्यस्तै, ज्ञानेन्द्र मल्लले २३, आशिफ शेखले १९, रोहितकुमार पौडेलले १३ रन बनाए । बलिङतर्फ केन्याका भिराट पटेल र लुकास ओलुचले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३० रन बनायो । केन्याका लागि इर्फान करिमले ३४ रन बनाउँदा लुकास ओलुचले अविजित ३० रन बनाए । नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले दुई, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।
अब नेपालले केन्याविरुद्ध दोस्रो खेल शुक्रबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, १२, १३ र १४ गते तेस्रो, चौथो र पाँचौ खेल खेल्नेछ । यसपछि तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ ।
१० भदौ २०७९, शुक्रवार ०७:४६ बजे प्रकाशित












