कैलालीस्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं- १ मुडाबजार नजिकै पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ ।
आज दिउँसो करिब २ बजेको समयमा टिफिनको बट्टामा कालो प्लाष्टिकले बेरेर बाहिर तार निकालेको अबस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी निरीक्षक महेश बिक्रम शाहीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
आज बिहान अत्तरिया चौराह १ र वडा नम्बर ६ हरैया आबास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने संकास्पद वस्तु फेला परेको थियो । दुवै ठाउँका शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।
कैलालीमा बजार आंशिक रूपमा खुला रहेका छन् भने अटो, मोटरसाइकल चलेको छ । विद्यालयहरू पनि बन्द रहेका छन् । मंगलबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।
७ भदौ २०७९, मंगलवार १६:४५ बजे प्रकाशित












