दुई थान पेस्तोलसहित दुई जना पक्राउ
सशस्त्र प्रहरी बलले मोरङबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लावारी–६ का २९ वर्षीय नवीन धिमाल र भारतीय नागरिक आरिफ आलम छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बलको दाम्राभिट्टा आउट बोटर पोष्ट (बीओपी) को टोलीले आइतबार पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले धिमाल सवार को २२ प ६७०७ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट एक थान अटोमेटिक पेस्तोल र ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट बरामद गरेको हो ।
पक्राउ परेकालाई थप अनुसन्धानको लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाइ बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बलको सप्तरी बनैनिया सीमा नाकाबाट समेत एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ उनीहरूले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो वस्तु जाँच गर्दा पेस्तोल बरामद भएको हो ।
६ भदौ २०७९, सोमवार १२:०५ बजे प्रकाशित












