टिकटकमा लोकप्रिय बनेका जेआर भट्ट अत्तरिया बसपार्कमा कुटिए
कैलालीको अत्तरीयामा ट्याङ्कर दुर्घटनाको फेसबुक लाइभ प्रसारण गरेको भन्दै एक युवक कुटिएका छन् । गोदावरी नगरपालिकास्थित अत्तरिया बसपार्क क्षेत्रमा बैतडी घर भएका जनकराज (जेआर) भट्टमाथि कुटपिट भएको हो ।
जेआरले आफूमाथि आइतबार बिहान १० बजे अत्तरिया बसपार्कमा आफूमाथि कुटपिट भएको बताएका छन् । भट्टले आफ्नो फेसबुक मार्फत आफूलाई अत्तरिया बसपार्कमा ४÷५जनाको समूहले कुटपिट गरेको बताएका छन् ।
‘कहिल्यै नसोचेको घटना घट्यो, अत्तरियामा ट्याङ्कर दुर्घटनाको लाइभ गरेको विषयलाई लिएर म माथि कुटपिट भयो, हिरो बन्न खोज्छस् ? भनेर ४/५ डडेलधुराका र गुरुङहरूले मिलेर कुटेका छन्,’ उनले भने । आफू कुटिएका उनले आफ्नो फेसबुक मार्फत लाइभ गर्दै अहिले सम्म आफ्नो कसैसङ दुस्मनी नरहेको समेत बताएका छन् । कुटपिटबाट कानको जाली समेत फुटेको उनले बताएका छन् । ‘अहिले सम्म साथीहरुका लागि टिकटकमा भिडियो बनाउँदै आएको छु मेरो कसैसंग दुस्मनी छैन,’ उनले भने । उनले आफू कुटिएपछि माया मेट्रो अस्पतालमा चेकजाँच गराइरहेको बताएका छन् ।
जेआरले इलाका प्रहरी कार्यालय माला खेतीमा कुटपिटबारे ठाडो निवेदन पनि दिएका छन् । जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट सुदूरपश्चिमका देउडा कलाकार समेत हुन् । टिकटकमा उनका ९२ हजार बढी फलोर्स छन् भने तीन मिलियन लाइक छ । उनले धेरै टिकटक सुदूरपश्चिमको बैतडी भाषामा बनाएका छन् ।
यता इलाका प्रहरी कार्यालय मालाखेतीले उक्त कुटपिटको घटनामा एक युवकलाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीका अनुसार कुटपिटको आरोपमा गोदावरी नगरपालिका –२ का स्थानीय रोहित साउदलाई पक्राउ गरिएको छ ।
शनिबार राती १० बजे नेपाल आयल निगमको इन्धन बोकेको ना ४ ख २६४० नम्बरको ट्याङ्कर अत्तरिया पहाड रोडमा दुर्घटना भएको थियो । अत्तरिया तर्फ आउँदै गरेको ट्याङ्करले पैदल यात्रीलाई ठक्कर दिई पल्टिदाँ पैदल यात्री दार्चुलाको मालिकार्जुन गाउँपालिका १ का लोकेन्द्र धामी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार दुर्घटनामा २ गाई ३ गोरु गरी ५ छाडा चौपाया मरेका छन् ।
दुर्घटना गम्भीर घाइते भएका धामीको अत्तरियास्थित पदमा अस्पतालका उपचार भइरहेको र ट्याङ्कर चालक डडेल्धुराको आलितालका गणेश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१५ साउन २०७९, आइतवार १९:५७ बजे प्रकाशित












