कनरी पार्क अलपत्र, स्विमिङ पुल फुटेर चिराचिरा

संघीय सरकारको पौने ३ करोडको लगानीमा निर्माण भएको धनगढीको कनरी पार्क अलपत्र परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको कनरी पार्क निर्माण सम्पन्न भई उद्घाटन भएको करिब २ वर्ष पुग्नै लाग्दासम्म पार्क सञ्चालनबारे कुनै योजना बन्न सकेको छैन ।

झन् पार्कभित्र बनाइएका संरचना टुट्फुट भई काम नलाग्ने अवस्थामा पुगेका छन् । पार्क उद्घाटन अघि नै संरचना टुट्फुट भएपनि उपमहानगरले संरक्षणमा चासो नदिँदा भएका संरचना समेत भत्किन लागेका हुन् ।

No description available.

२०७७ साल कार्तिक २ गते तत्कालिन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले उप महानगरपालिका १५ मा निर्माण भएको कनरी पार्कको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै तत्कालिन नगरप्रमुख वडले कनरी पार्क सबैका लागि खुला भएको भन्दै यसलाई गुरु योजना अनुसार थप व्यवस्थित बनाउँदै लैजाने बताएका थिए ।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले संघन सहरी विकास कार्यक्रम अन्तरर्गत कनरी पार्क निर्माण गरेको थियो । २ करोड ७४ लाखमा पार्क निर्माणका लागि देवसिंह÷एलबि जेभिसंग २०७४ असार ३० गते सम्झौता अनुसार ३ वर्ष अगाडि नै निर्माण सकिएको थियो ।

निर्माण कम्पनीले हस्तान्तरण गर्नुपूर्व नै पार्कभित्रका संरचना भत्किएको भएपनि उपमहानगरले उद्घाटन गर्दै अलपत्र छोडेको पाइएको छ । पार्कको कुनै संरक्षण नहुँदा पर्यटकहरू त्यहाँ जान रुचाउँदैनन् ।

No description available.

‘बिदाको दिन परे २÷३ जना पार्क घुम्ने आउनुहुन्छ,’ पार्कका चौकीदार बिजेन्द्र धामीले भने,’ ‘कुनै दिन त एक जना पनि आउँदैन । यहाँ बिजोग अवस्था छ ।’ घुम्न आउने भन्दा पनि धम्काउन बढी आउने गरेको उनको दुखेसो छ ।

‘एक्लै चौकीदार के–के हेर्न सक्छु र रु ’उनले भने,’ ‘राती आएर सिसा फुटाइदिएका छन्, बिजुलीका तार टुटाइदिएका छन् । म आफै यहाँ असुरक्षित छु ।’ पार्क हस्तान्तरण हुनु अघिबाटै आफू चौकीदारीमा लागेको उनले बताए ।

उनका अनुसार निर्माण भएका संरचना उद्घाटन हुनु अघि नै फुटन थालिसकेका थिए । पहिला नै फुटिसकेका थिए संरचना पछि टालटुल गरेर यसैमा उद्घाटन गरियो,’ उनले भने, अहिले अवस्था झन नाजुक छ । खाली जङ्गल जस्तै छ ।’

No description available.

उनले पार्कको प्रचारप्रसार हुन नसक्दा आन्तरिक पर्यटकहरु पनि भित्रिन नसकेको बताए । उनले भत्किएका संरचना पुननिर्माण गरेर पार्कलाई अझै व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने बताए । १२ बिगाहा क्षेत्रफलमा रहेको पार्क अलपत्र परेपछि सरकारको करिब पौने ३ करोड बजेट बालुवामा पानी हालेझैँ भएको छ ।

पार्क निर्माण पश्चात् आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै उपमहानगरपालिकाको आम्दानी बढ्ने अपेक्षा लिइएपनि पार्कको आम्दानीले चौकीदारको पारिश्रमिक पनि नपुग्ने अवस्था आएको छ । एकातर्फ निर्माण कम्पनिले कमसल सामग्री प्रयोग गरेका कारण संरचना भत्किएका छन्, भने अर्को तर्फ उपमहानगरले संरक्षण नगर्दा पार्क अलपत्र छ ।

यसरी पार्क अलपत्र भएपछि राज्यको सम्पत्ति सकिनु बाहेक कुनै उपलब्धि नभएको स्थानीय बताउँछन् । ‘निर्माण सम्पन्न गरेपछि पनि पार्क अलपत्र परेको छ,’ स्थानीय हरीनारायण रानाले भने, ‘सरकारको लगानी अहिले बालुमा पानी हालेजस्तै भएको छ ।’ उनले स्विमिङ पुल पनि पुरै फुटिसकेको बताए ।

No description available.

स्थानीय कमल ढाँटले पार्क भन्दा पछाडिको खाली जमिनलाई प्रयोग गर्नुपर्न बताए । ‘अघिलो मेयर साबले खाली जमिनमा चिडियाखाना बनाउछु भन्नुभएको थियो,’ उनले भने, खै पैसा पनि कहाँ गयो ? काम पनि भएन । जबसम्म पछाडिको भाग प्रयोगमा आउँदैन तबसम्म आकर्षण पनि देखिँदैन ।’

दुई–दुईवटा स्विमिङपुल प्रयोगमा नआउँदै चिरा परेर फुट्नु दुखको कुरा भएको उनको भनाइ छ । अहिले गर्मीको समयमा दुइटै स्विमिङपुल सञ्चालन गरेको भए उपमहानगरपालिका नै फाइदा पुग्ने उनले बताए ।

‘पार्कलाई ठेक्कामा नदिई स्थानीयको मातहतमै चलाउनुपर्ने स्थानीयको भनाइ छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अब छिटै नै पार्कको मोडालीटी बनाएर अगाडि बढाउने बताए । उनले अहिलेसम्म पार्कलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको र अब अध्ययन गरेर टुंगो लगाइने बताए ।


१३ साउन २०७९, शुक्रवार १०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु