वीपी स्मृति दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको
कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा कैलालीसहित देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा कैलालीमा फलफूल वितरण, वृक्षारोपण लगायतका कार्यक्रम गरि मनाइएको छ ।
कैलालीको धनगढीमा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ कैलाली तथा नेविसंघ एश्वर्य बहुमुखी क्याम्पसले धनगढी वडा नम्बर ५ मा सरसफाई कार्यक्रम गरेको छ । क्याम्पसको प्राङ्गणमा रहेका फोहोरहरुको व्यवस्थापन गर्दै दिवस मनाइएको कार्यबाहक सभापति देवेन्द्र जोशीले जानकारी दिए ।
सरसफाई कार्यक्रममा नेविसंघमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ । यस्तै, कैलालीको गोदावरीमा दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले वृक्षारोपण कार्यक्रम गरेको छ ।
वृक्षारोपण कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती बसन्त रोकाया लगायतका अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।उता, टीकापुरमा नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको आयोजनामा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।


६ साउन २०७९, शुक्रवार १८:३५ बजे प्रकाशित












