कञ्चनपुरबाट खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ
कञ्चनपुरको पुर्नवास नगरपालिका-११ अमरबस्तीस्थित नेपाल-भारत दशगजा क्षेत्रहुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८ दशमलव ३७ ग्राम लागुऔषध (खैरो हिरोइन) सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने २८ वर्षका सुमित गुप्ता, २४ वर्षका लबि गुप्ता र २७ वर्षका बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।
सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँचगर्दा सेतो प्लास्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उनले बताए । पक्राउ परेका सुमितको साथबाट २४ दशमलव ४७० ग्राम, लबिको साथबाट २५ दशमलव ६४० ग्राम र बबिको साथबाट २८ दशमलव २६० ग्राम लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए ।
तीनै जनाको साथबाट लागु औषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरूमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरू लागुऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।
६ साउन २०७९, शुक्रवार १४:३१ बजे प्रकाशित












