सेतीमा पानीको बहाव उच्च, सतर्कता अपनाउन आग्रह
डोटीमा तीन दिनदेखिको लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।
जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढीमापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ५।४ क्युसेक पुगेको छ । केन्द्रका अनुसार ३।५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ ।
नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।
सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कमला श्रेष्ठले बताए ।
५ साउन २०७९, बिहीवार १४:२१ बजे प्रकाशित












