शिविर सञ्चालनमा आउँदा स्थानीय खुशी
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर -१९ का ७५ वर्षीय गोरखबहादुर सिंहको छाती दुख्ने समस्या पुरानै हो ।आर्थिक समस्यालगायतका कारण उनी यसअघि टाढा जान सकेनन् । यसपटक गाउँमै आएको स्वास्थ्य शिविरले उनले राहत महशुस गरेका छन् ।
धनगढी उपमहागनरपालिकाले पहिलो पटक प्रत्येक वडामा घुम्ती विशेषज्ञ सेवा सुरु गरेको छ । स्वास्थ्य सेवा गाउँमै पुगेपछि उनले बल्ल आफूलाई स्थानीय सरकारको अनुभूति भएको बताए । ‘बुढेसकालमा ठूलै स्वास्थ्य समस्या नभएसम्म छोराबुहारीले अस्पताल लैजान मान्दैनन्,’ उनले भने, ‘मेरो छाती दुख्थ्यो । अहिले उपचार गर्न पाएँ ।
औषधि पनि पाएको छु, खुसी छु ।’ पैसा भएको भए उपचारका लाई काठमाडौँ जाने थिएँ, पैसा नभएर यहाँ उपचार गर्न आएँ ।’ उनले भने ।
स्वास्थ्य सेवा गाउँमै पुगेपछि जनता हर्षित भएका छन् । ‘हामीले कर मात्र तिर्ने तर सेवा सुविधा केही पनि नपाउने अवस्था थियो, बल्ल स्थानीय सरकार भएको अनुभूति भयो, गाउँमा विषेशज्ञ डाक्टर आएर स्वास्थ्य जाँच गराए, आनन्द लाग्यो’ ७७ वर्षका सोमनाथ खतिवडाले भने,‘ हरेक स्थानीय सरकारले आफ्ना नागरिकको स्वास्थ्यलाई यसै गरी प्राथमिकता देओस ।’
वडा नम्बर १९ की सुनिता चौधरी महिनावारीका बेला तल्लो पेट दुख्ने पीडा लुकाएर लामो समयदेखि बसेकी थिइन् । पहिलो पटक फूलबारी स्वास्थ्य चौकीमा जँचाउन पुगेकी उनलाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सेती अपस्ताल जान सुझाए । खर्चको जोहो गर्न नसकेकी उनले आइतबारबाट उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ मा पुगेर जाँच गराइन्, निःशुल्क औषधि पाइन् ।

सोही ठाउँकी लक्ष्मी चौधरीलाई पनि पाठेघरको समस्या थियो । पैसाको अभावमा अस्पताल जान नसकेकी उनलाई पनि वडा क्लिनिकमा डाक्टरले निःशुल्क पाठेघरको रिङ बाँधिदिएपछि हाइसन्चो भएको छ ।
धनगढी उपमहानगरपालिका १४ फुलबारीका मेघप्रसाद शर्मा पनि ८१ वर्षका भए । उनी भन्छन, ‘उपमहानरले महिनामा एक पटक वडामै गरिदिने यस शिवरले सबैभन्दा बढी गर्भवती महिला र जेष्ठ नागरिक लाभान्वित भएका छन ।’ उनले, सेती प्रादेशिक अस्पताल गएर सेवा लिन कठिनाई हुने गरेको बताए ।
वडा नम्बर १४ का अग्नीप्रसाद तिवारी पनि जेष्ठ नागरिक हुन् । उनले, उपमहानगरले गरेको स्वास्थ्य क्लिनिकको स¥हाना गरे । ‘हामीलाई खुसी लागेको छ । गाउँमै आएर महिनामा एकपटक स्वास्थ्य जाँच गर्न पाउनु भनेको राम्रो कुरा हो’ उनले भने । ‘हाम्रो देशको सरकारी अस्पतालहरुको अवस्था हेर्ने हो भने गाउँमा यसरी विषेशज्ञ सेवा पुग्न अझै दुई दशक लाग्छ ।’
निःशुल्क आफनै घर दैलोमा चेकजाँच गराउन पाउदा धेरै नै खुशी लागेको मंगलबहादुर सिंह बताउछन् ।

मासिक रुपमा विपन ,गरिब र निमुर्खा वर्गहरु लाई कम्तिमा पनि २०/२५ जनालाई महिनाको एक पटक चेक जाँच गरेर उनीहरुलाई माथि उकासन सकियो भने यो शिविर प्रभावकारी हुने उनले बताए । ‘एक दिनका लागि मात्रै शिविर सञ्चालन गरेर फेरि जस्ताको त्यस्तै गर्न हो भने खासै यसको औचित्य रहदैन,’ उनले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ ।’
४ साउन २०७९, बुधवार १२:५७ बजे प्रकाशित












