धनगढीमा नेपाल प्रहरीका प्रशिक्षार्थीलाई हिट स्ट्रोक, ९ जना सेतीमा भर्ना

सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा रहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएपछि अस्पताल भर्ना भएका छन् । १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अत्यधिक गर्मीका कारण बेहोस भएका उनीहरुलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा गम्भीर भएका राजु चौधरीलाई आइसियूमा राखिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

यस्तै अर्का एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अन्य ७ जना भने सामान्य उपचारपछि फर्किएका छन् ।
सुदूरपश्चिम प्रदेश दिपायल तालिम केन्द्रमा बढी प्रशिक्षार्थी भएका कारण केहीलाई धनगढी र केहीलाई महेन्द्रनगरमा तालिम प्रदान गरिरहेको उनले बताए । धनगढीमा पछिल्लो केही दिन यता अत्याधिक गर्मी बढेको छ ।

 


२२ असार २०७९, बुधवार २०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु