धनगढीका मेयर हमालका लागि उपलब्ध गराइएको गाडी स्वास्थ्य शाखालाई प्रदान
धनगढी उपमहानगरपालिकाले नगरप्रमुखका उपलब्ध गराएको गाडी मेयर गोपाल हमालले स्वास्थ्य शाखालाई प्रदान गरेका छन् । मेयर हमालले गाडी विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई प्रदान गरेका हुन् । नगर प्रमुख हमालले आफू नीजि गाडी नै प्रयोग गर्ने भन्दै सरकारी गाडी स्वास्थ्य शाखालाई प्रदान गरेका हुन् । यस अघि उनले नगरले उपलब्ध गराएको गाडी नचढ्ने घोषणा गरेका थिए ।
नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए ।
उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । ‘साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याउछौँ,’ प्रमुख हमालले भने ‘हामीले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेका छौँ,’ ।
यस्तै उनले क्लिनिक चलाउन डाक्टर र थप जनशक्ति परिचालन हुने बताए ।
वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरका प्रमुखले चढ्ने गाडी तयार गरी एक समारोहका बीच श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्य शाखा प्रमुख बोहराले स्वास्थ्य शिविरले नगरबासीलाई घरदैलोमै स्वास्थ्य उपचार सुविधा पाउन सहज हुने बताए । प्रत्येक महिना हरेक वडामा कार्यतालिका बनाएर शिविर सञ्चालन हुनेछ । वषैभरी नै यो सेवा सञ्चालनमा आउने उनले बताए ।
धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने २ जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ ।
२२ असार २०७९, बुधवार १६:३० बजे प्रकाशित












