बाजुराको बुढीगंगामा सुरक्षा व्यवस्था कडा, भोली मतदान
बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए ।
‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएका छौं’ प्रजिअ अधिकारीले भने, ‘सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौं ।’
उनले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक(इन्सपेक्टर०को नेतृत्वको टोली खटाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेको पनि प्रजिअ अधिकारीले बताए । उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
२२ असार २०७९, बुधवार ११:२७ बजे प्रकाशित












