सुदूरपश्चिमबाहेक देशभर मनसुन विस्तार, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर आजको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । हाल देशको प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिमका भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच कास्कीको लुम्ले र जुमलेटीमा गए राति भारी वर्षा भएकोले आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

 


१२ असार २०७९, आइतवार ०९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु