धनगढीको खोलानालामा भएको अतिक्रमण हटाउन सुरु

कैलालीको धनगढीस्थित खोलानालामा भएको अतिक्रमण हटाउने काम सुरु गरिएको छ । खोलानालामा अतिक्रमणका कारण डुबान समस्या बढ्दै गएकाले धनगढी उपमहानगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन सुरु गरेको हो ।

अतिक्रमण हटाउने कार्यको सुरुवात धनगढी उपमहानगरपालिका–५ को तारानगरस्थित बालबिहानीबाट सुरु गरिएको छ । अतिक्रमित क्षेत्र डोजर लगाएर खाली गराइएको छ । यहाँ रहेको कैलाली, सुकुटीनाला अतिक्रमण हुँदा पानीको निकास सहज छैन । खोलानाला क्षेत्रमा विभिन्न संरचना बनाइएका छन् ।

खोलानाला अतिक्रमण गरी संरचना बनाइएपछि पानी रोकिएर धनगढीको पार्क क्षेत्र, एलएनचोक, ऐश्वर्य विद्या निकेतन क्षेत्रलगायतका ठाउँमा पानी जम्ने समस्या रहेको छ । बर्खा याममा यी क्षेत्रहरु थोरै वर्षा भएपछि पनि जलमग्न हुनेगरेका छन् । धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण रहेकाले डुबान समस्या समाधानका लागि अतिक्रमण हटाउन थालेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।

पानीको प्राकृतिक बहाव रोक्नेगरी खोलानाला क्षेत्रमा संरचना निर्माण भएका छन् । जसले पानीको सहज निकास छैन । थोरैमात्र पानी प¥यो भने पनि धनगढीको पार्कमोडदेखि लिएर विभिन्न क्षेत्र जलमग्न हुनेगरेको छ । खोलानाला अतिक्रमण गरी प्राकृतिक बहावलाई रोक्ने कार्य भएकाले डुबान समस्या समाधानका लागि अतिक्रमित क्षेत्र खाली गराउन आवश्यक रहेको मेयर हमालले बताए ।

खोलानालामा भएको अतिक्रमण हटाउने धनगढी उपमहानरपालिकाको अभियानको नगरवासीले स्वागत गरेका छन् । डुबान समस्याबाट छुटकारा पाउन अतिक्रमण हटाउन आवश्यक रहेकोे उनीहरुको भनाइ छ ।

धनगढी उपमहानगरपालिका –५ तारानगरका रविनकान्त पन्तले कैलाली र सुकुटी खोला किनारमा आफ्नो धेरै जग्गाजमिन रहेको भन्दै अतिक्रमण हटाउने कार्यमा पूर्ण साथ दिने बताए ।


१ असार २०७९, बुधवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु