बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो । धनगढी उपमहानगरपालिका –१६ स्थित रामपुर गाउँमा रहेको बेहडाबाबा मन्दिर नेपाल–भारतका दर्शनार्थीहरुको आस्थाको धरोहरको रुपमा रहेको छ ।
दुवै देशका दर्शनार्थीहरुले बेहडाबाबाको दर्शन गर्दैआएका छन् । गङ्गा दशहराको दिन बिहीबार दिउँसोसम्म मात्रै करिब ४० हजार दर्शनार्थीहरुले बेहडाबाबा मन्दिरको दर्शन गरेको वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरीले बताए ।
‘नेपाल–भारत दुवै देशको दर्शनार्थीहरुको उल्लेख्य रुपमा आउजाउ भइरहेको छ’, उनले भने । गङ्गादशहरा मेलालाई व्यवस्थित गर्न र शान्ति, सुरक्षा कायम गर्न मेला क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको उनले बताए ।
बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट भारतीय दर्शनार्थी आउनेगर्छन् । बेहडाबाबा मन्दिरको दर्शन गर्नाले पुत्र, पत्नी, धन प्राप्त हुनेगरेको विश्वास छ । अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण भारतीय तिर्थालुहरु आउन पाएका थिएनन् । यसवर्ष ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड रहेको छ ।
बेहडाबाबा मन्दिरको गाथा भगवान शिवसँग जोडिएको छ । बेहडाबाबाको दर्शन गरेर मागेको चिज पूरा हुने जनविश्वास रहिआएको छ । भगवान शिवको प्रतीकका रुपमा रहेका नेपालको पशुपतिनाथ र भारतको केदारनाथ जत्तिकै बेहडाबाबाको धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।
२६ जेठ २०७९, बिहीवार १५:४४ बजे प्रकाशित













