अछाममा किशोर मृत्यु प्रकरण : सीआईबीसँगै एसएसपी नेतृत्वको टोली घटनास्थलमा
अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धानका लागि अर्को अनुसन्धान टोली परिचालन भएको छ। जिल्लाको टोलीलाई सघाउन एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा रहेको ६ सदस्यीय अनुसन्धान टोली सोमबार बेलुका अछाम पुगेको हो।
मंगलबारदेखि अनुसन्धान सुरु गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले जानकारी दिए। ‘अनुसन्धानमा सघाउन अर्को टोली घटनास्थल पुगिसकेको छ, आजदेखि काम सुरु गर्छ,’ उनले भने।
जेठ १७ गतेदेखि बेपत्ता भएका शाही शनिबार बिहान मृत भेटिएका थिए। घटना अनुसन्धानका लागि जेठ २२ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली पनि घटनास्थलमा छ।
मृतक शाहीको शव पोष्टमार्टमका लागि प्रहरीले उठाउन सकेको छैन। किटानी जाहेरी दर्ता गरेर घटनाको सत्य, तथ्य छानविन गरी दोषी कानुनी दायरामा नआएसम्म शव उठाउन नदिने पीडित परिवारको अडान छ।
शाहीको हत्या आरोपमा किटानी जाहेरी दिँदा प्रहरीले दर्ता नगरेकोले शव उठाउन नदिएको मृतकका दाइ नाता पर्ने निराजन शाहीले बताए।
उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावल जाहेरी दर्ताको प्रक्रिया रहेको बताउँछन्।
२४ जेठ २०७९, मंगलवार १४:२० बजे प्रकाशित












