सुदूरपश्चिममा पाठ्यपुस्तककै अभाव

सुदूरपश्चिममा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भएपनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको गुनासो बढेको छ। जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताएको छ । तर जेठ ३ गतेबाट नयाँ शैक्षिकसत्र सुरू भए पनि विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन ।

शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान समाप्त भए पनि किताब नहुँदा पठनपाठन गर्न नसकिएको धनगढी फूलवारीको जनजागृति माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर क्षेत्रीले बताए । ‘पाठ्यपुस्तक नहुँदा नेटबाट डाउनलोड गरेर अलि–अलि काम चलाएका छौँ,’ उनले भने, ‘तर किताब छैन् स्कुल लागेको पनि आधा महिना भन्दा बढी भइसक्यो किताब आउँदैन ।’ अहिले सम्म ३ कक्षा सम्मको किताब पाएको उनले बताए ।

कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको उनले बताए । ‘पुरानो पाठ्यपुस्तक छैन अरुलाई त पुरानो पाठ्यपुस्तक दिएर पठाएका छौँ,’ उनले भने, ‘परिवर्तन भएको पुस्तक नेटबाट डाउनलोड गरेर काम चलाइरहेका छौं । तर पाठयपुस्तक नहुँदा गारो छ ।’

पढाउने प्रयास गरे पनि विद्यार्थीमा किताब नहुँदा रुचि जगाउन नसकिएको धनगढीको सरस्वती आधारभूत विद्यालयका प्राचार्य पदमराज जोशीले बताए । ‘किताब नहुँदा पठनपाठनमा समस्या भएको छ, विद्यार्थीमा पनि कक्षाकोठा बसेर पढ्ने उत्साह आएको छैन,’ उनले भने, ‘पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास त गरेका छौँ । तर विद्यार्थीसँग किताब नहुँदा सहजै पठनपाठनमा सरिक नहुँदा रहेछन् ।’

सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । प्रदेशका सात पहाडी जिल्लाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक पठाइ सकिएको छ ।

पहाडी सात जिल्लमा पुस्तक वितरण सकिएसँगै कैलाली र कञ्चनपुरका सरकारी विद्यालयमा पुस्तक वितरण कार्य सुरु भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले बताए । कक्षा ४ मा ३० हजार, ७ को ४५ हजार र ९को ३५ हजार भन्दा माथि पाठ्यपुस्तक आएको उनले बताए ।

कक्षा ७ को १० हजार र ९ को १५ हजार पाठ्यपुस्तक आउन बाँकी रहेको उनको भनाइ छ । ‘आउँन बाँकी रहेको पाठ्यपुस्तक २÷३ दिनमा आइपुग्छ,’ उनले भने, ‘जेठ मसान्तसम्म प्रदेशका सबै विद्यालयमा पुस्तक पुगाउने लक्ष्य छ ।’ हाल सम्म ६० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको उनले बताए ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेकोले पाठ्यपुस्तक छपाइमा यो वर्ष केही ढिलाइ भएको जनाएको छ ।


१९ जेठ २०७९, बिहीवार ०९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु