धनगढीमा पराजित वडले दिए अंकमाल गरेर हमाललाई बधाई

धनगढी उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित भएका कांग्रेस नेता नृपबहादुर वडले अंकमाल गरेर बधाई दिएका छन् । आइतबार बिहान सार्वजनिक भएको अन्तिम परिणाम अनुसार हमाल २६ हजार ८६५ मतका साथ मेयरमा विजयी भएका छन् ।

१४ हजार ८१७ मत पाएर पराजित भएका नेता वडले हमाललाई अंकमाल गरेर बधाई दिँदै हार्दिकता देखाएका हुन् । अघिल्लो पटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्दा समेत पराजित हुन पुगे ।

धनगढी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यहाँका बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ । तर, मेयरमा भने गठबन्धन हुँदा पनि पराजित हुनु परेपछि कांग्रेसीजन निराश छन् ।

उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।

उपमेयरमा गठबन्धनको विरोध गर्दै नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले बागी उम्मेदवारी दिएका थिए । त्यसको फाइदा एमालेले लिँदा माओवादी केन्द्रकी अधिकारी हार्न पुगिन् । विजयी रानाले १५ हजार ४७९ मत पाइन् । उनीसँग हारेकी माओवादीकी अधिकारीले १२ हजार ६७० मत पाइन् । बागी उठेका भण्डारीले ६ हजार ६०९ मत पाए ।


८ जेठ २०७९, आइतवार ११:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु