२५ वर्षपछि कांग्रेसले फर्कायो दिपायल सिलगढीमा गुमेको विरासत

डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर÷उपमेयरसहित भारी मतले विजयी भएको हो। नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजी सिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

अर्का प्रतिद्वन्द्वी नेकपा (माओवादी)का उमेदवार खगेन्द्र बहादुर साउँद (केबी)ले १ हजार ९८३ मत मात्रै प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उम्मेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गर्नुभएको छ भने जनता समाजवादीका उम्मेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय जनमोर्चाका उमेदवार नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार)ले ४ मत प्राप्त गरे ।

नगर उप–प्रमुखमा नेपाली कांग्रेसकै उमेदवार कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उमेदवार रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गरे । अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार शान्तिकुमारी बोगटी (खड्का)ले १८७ मत मात्रै प्राप्त गरे ।

दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो। जसमा एमालेका पूर्णराज जोशी जितेका थिए। निर्वाचित मेयरका उमेदवार खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेदवार मञ्जु मलासीसँग पराजित भएका थिए ।

०७४ मा कांग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमाले ५ वडासहित मेयररउपमेयरमा विजयी भएको थियो। यसपटक एमालेको विरासत तोड्दै कांग्रेस पाँच वटा वडामा विजयी भएको छ। स्वतन्त्र जितेका एक जना वडा अध्यक्ष यसअघि कांग्रेसबाट विजयी भएका थिए। एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजय भएको छ।


३ जेठ २०७९, मंगलवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु