कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी पुरा

कञ्चनपुरमा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ।

महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृतलगायत कर्मचारी तीन सय ४१ मतदान केन्द्रमा मतपत्र र मत पेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइ सकिएको जानकारी दिए।

“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्”, उनले भने, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ।” उनका अनुसार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनी निवेदन दिएकालाई परिचयपत्र वितरणको कार्य भइरहेको छ।

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाश गर्ने, मादक पदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेका छन्। कार्य विभाजन गर्ने र निर्वाचन प्रतिनिधिको नियुक्ति गर्नेलगायतका कार्यसमेत अगाडि बढाइएको छ।

नौवटा पालिका रहेको जिल्लामा दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन्। तीमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ छन्। हरेक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका छन्।

जिल्लाभरिका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन्। १३२ निर्वाचनस्थलमा ३४१ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। उनका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा झण्डै तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ।

 


२९ वैशाख २०७९, बिहीवार १५:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु