स्थानीय तह निर्वाचनका लागि कैलालीमा सम्पूर्ण तयारी पूरा
स्थानीय तह निर्वाचनका लागि कैलालीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयले जानकारी कैलालीमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरु मंगलबार देखिनै सबै निर्वाचन केन्द्रमा खटिसकेको प्रदेश निर्वाचन कार्यालयका निमित प्रदेश प्रमुख प्रेमराज भट्टले बताए । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उनले बताए ।
कैलालीमा जम्मा ६१९ मतदान केन्द्र थपिएको हो । सबै मतदान केन्द्रमा मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी खटिसकेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृत ६१९ जना, सहायक मतदान अधिकृत ६१९ जना, सहायक कर्मचारी एक हजार ८५७ जना र कार्यालय सहयोगी ६१९ जना निर्वाचन केन्द्रमा खटेका छन् । एक हजार २३८ जना स्वमय् सेवक गरेर जिल्लाभरि जम्मा चार हजार ९५२ कर्मचारी खटिएका जनाइएको छ ।
मतदान केन्द्रमा खटेका कर्मचारीहरुले बुधबार र बिहीबार दुई दिनसम्म मतदाता परिचयपत्र वितरण र मतदान स्थलमा आवश्यक तयारीको काम गर्ने निमित कार्यालय प्रमुख भट्टले बताए ।
कैलालीको मतदाता संख्या पाँच लाख २५ हजार १२५ पुगेको छ । २०७४ को निर्वाचन ताका चार लाख ६० हजार मतदाता रहेका थिए । जिल्लाभरि महिला मतदाता संख्या दुई लाख ७९ हजार १०, पुरुष मतदाता संख्या दुई लाख ५६ हजार १०४ र अन्य मतदाता संख्या ११ रहेको छ ।
धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन् । यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् ।
कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।
यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
२९ वैशाख २०७९, बिहीवार १४:३८ बजे प्रकाशित












