‘तेरो दाइ मिदी भइसक्यो’ भन्दै फेसबुक र टिकटकमा भाइरल भएका युवक प्रहरी नियन्त्रणमा
फेसबुक र टिकटकमा म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक दुई दिनदेखि फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी (उनकै भाषामा मिदी प्रहरी)भएको बताएका छन् ।
भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो रु बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’
प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी भने होइनन् । युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।
रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ (फुपूका छोरा) पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ । पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ ।
२१ वैशाख २०७९, बुधवार १४:०४ बजे प्रकाशित












