सर्जकलाई दुविधामा नपार्न गायक प्रकाश सपूतको आग्रह

गायक प्रकाश सपूतले सोमबार फेसबुकमा स्टाटस लेख्दै कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न आग्रह गरेका छन् । उनले भिडियो हेरिरहँदा आत्मसम्मानमा चोट पुगेकाहरूमाथि क्षमा समेत मागेका छन् । सपूतले आफूले सिर्जना गरेको गीत र भिडियोको पृष्ठभूमिबारे समेत प्रस्ट पारेका छन् ।

गीतको पृष्ठभूमिकाबारे केही अवगत गराउन चाहन्छु । करिव ६ वर्षअघि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्, ‘प्रतिकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’ । योबीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ । केही पात्रहरू पढेँ । आम मानिसका भोगाइ र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेसा र पहिचान यही हो ।’

विवादले आफूलाई मानसिक तनावसमेत दिएको उनले स्टाटसमा खुलाएका छन् । उनले आफूलाई कुनै राजनीतिक कित्तामा नउभ्याउन समेत आग्रह गरेका छन् । सपूतको माओवादीका पूर्वलडाकुको कथामा आधारित गीत पिर सार्वजनिक भएपछि उनीमाथि माओवादीका कार्यकर्ता तथा भ्रातृ संगठनहरूले दबाब दिएका थिए ।


३० फागुन २०७८, सोमवार १६:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु