लागुऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराहबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षका राहुल रानामगर ‘रोक्की’ र सो नगरपालिका–६ स्थित शान्ति टोल बस्ने १८ वर्षीय किशोर छन् ।
उनीहरुको साथबाट ४ ग्राम ८५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराह बस्ने प्रेमबहादुर बडुवालको म.२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको सुराक पाएपछि खोजतलास गर्दा प्रहरीले उनीहरुलाई फेला पारेको थियो ।
सडकमा फेला पारेर जाँच गर्दा सो लागूऔषध र चोरी भएको मोटरसाइकल फेला परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि इलाका प्रहरी कार्यालय दोधाराले अनुसन्धान गरिरहेको छ ।
१४ माघ २०७८, शुक्रवार १४:०१ बजे प्रकाशित












