Alok

धनगढीमा मोटरसाइकल दुर्घटनामा परी घाइते पुरुषको साथबाट ब्राउन सुगर बरामद

कैलाली प्रहरीले धनगढीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक पुरुषको साथबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । बुधबार उपमहानगरपालिका-३ डि.के. पेट्रोल पम्प नजिक ना८ख ९०३७ नम्बरको ट्याङकरलाई सुपप्र ०१–००८ प ५१६० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।ठक्करपछि मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका-५ का ४२ वर्षीय चन्द्रदेव चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

घाइते चौधरीलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका उनलाई चेकजाँच गर्दा ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए। ट्याङकर चालक कञ्चनपुरको वेदकोट नगरपालिका-७ का दीपक बोहरा सकुशल रहेको बताइएको छ।


२९ पुस २०७८, बिहीवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु