अब बन्ने विकासको खाका कार्यान्वयन गर्नुपर्छ : नेता महर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली काँग्रेस नेतृृत्वको सरकारले अब विकासको खाका कोरेर कार्यान्वयन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगको टोलीसहित सुदूरपश्चिममा आएका नेता महरले मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
प्रेस युनियन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अब काँग्रेस नेतृत्वको सरकारले सुदूरपश्चिमको विकास लागि पश्चिम सेती, पञ्चेश्वर बहुउद्देश्यीय विकास परियोजना, बझाङ–ताक्लाकोट सडक, सेती लोकमार्ग, फास्ट ट्रयाक, गेटा मेडिकल कलेजको निर्माण तथा स्तरोन्नति गर्नुपर्ने बताए । यी राष्ट्रिय गौरवका योजनालाई कार्यान्वयन गर्न सकेमा सुदूरपश्चिको विकासमा टेवा पुग्ने बताए । उनले हरेक सरकारले योजना अगाडि सार्दै आएपनि कार्यान्वयन गर्न नसकेको भन्दै अब काँग्रेस नेतृृत्वको सरकारले यो कार्यभार पूरा गर्नुपर्ने बताए ।
पाँच पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने विकासको खाकालाई कार्यान्वयन गर्ने उनको भनाई छ । ‘सभापति देउवा पाँच पटक प्रधानमन्त्री भइसकक्नुभएको छ,’ उनले भने, ‘अब विकासका योजना कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
आफू सुदूरपश्चिम प्रदेशकै भएकाले यहाँको विकासका लागि सदैब लागिरहने उनले बताए । उनले गेटा मेडिकलका बारेमा पनि के गर्ने भन्ने विषयमा अन्यौलता रहेको र सकेसम्म मेडिकल विश्वविद्यालयको रुपमा लैजानुपर्ने बताए । ‘गेडा मेडिकल कलेजलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउनुपर्छ भन्ने मेरो भनाई हो’ उनले भन, ‘नेपालमा अहिलेसम्म छुट्टै मेडिकल विश्वविद्यालय पनि बनेको छैन । यसमा हामी सबैले लाग्नुपर्छ ।’
सुदूरपश्चिमसहित देशको विकासका लागि सरकारले फरक तरिकाले कामको सुरुवात गरेको नेता महरको भनाई छ । ‘राजनीतिक अधिकारले मात्रै जनताका आवश्यकता पूरा हुँदैनन्,’ उनले भने, ‘स्वास्थ्य, शिक्षा, संस्कृति, यातायात, खाद्यलगायतका अधिकारलाई पनि सुरक्षित गर्नुपर्छ भनेर सरकारले नयाँ बाटो तय गरेको छ ।’
उनले आयोगका उपाध्यक्षले नै सुदूरपश्चिमको विकास खाका निर्माणको जिम्मेवारी लिएको र सातै प्रदेशमा योजना आयोगले फरक÷फरक व्यक्तिलाई जिम्मेवारी दिएको बताए ।
देशका सबै जिल्लामा पुगेर विकास योजनाको खाका बनाउने सरकारको अभियान अन्तर्गत आयोगको टोलीले सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहित काँग्रेस पार्टी केन्द्रीय सदस्य महरले स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेताहरुसँग अन्तरक्रिया गर्दै सुझाव संकलन गरेको हो ।
जनताका समस्या र सुझाव संकलनका क्रममा सामान्यया तटबन्धन, बाढीपहिरोका विषय सबैभन्दा बढी उठेको नेता महरले बताए । उनले जनताको समस्या अनुसार आयोगका उपाध्यक्षले तटबन्धनलाई व्यवस्थित गर्न फन्ट निर्माण गर्ने कुरामा ध्यान दिएको बताए ।
त्यस्तै, शिक्षा, सञ्चारलगायतका विषयहरु पनि उठेको उनको भनाई छ । सुदूरपश्चिमबाट थालिएको अभियान ७७ वटै जिल्लामा पुग्ने नेता महरले जानकारी दिए ।
२१ पुस २०७८, बुधवार १०:०९ बजे प्रकाशित













