ओमिक्रोन सतर्कता : ६७ देशबाट आउनेले सात दिन होटलमा क्वारेन्टिन बस्नुपर्ने (देशको सूचीसहित)
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नेपालले पनि आवागमनमा कडाइ थालेको छ।
अध्यागमन विभागले सूचना जारी गर्दै ६७ देशबाट नेपाल आउनेहरुले सात दिन होटलमा र त्यसपछि पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएमा थप सात दिन घरमा क्वारेन्टिन बस्नुपर्ने बताएको छ।
आवागमनमा कडाइ गरिएका अधिकांश देशहरु युरोपेली छन् जहाँ अहिले ओमिक्रोनको संक्रमण बढ्दो छ। अमेरिका पनि त्यो सूचीमा छ भने एसियाका थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, कोरिया, माल्दिभ्स रहेका छन्।
मध्यपूर्वका जोर्डन, लेबनान जस्ता देशहरुबाट आउनेले पनि यही नियम पालना गर्नुपर्छ।
यसअघि नेपालले २ डिसेम्बरमा दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मालावी र हङकङबाट आउने वा त्यहाँ ट्रान्जिट भएका वा तीन हप्ताभित्र त्यता गएको ट्राभल हिस्ट्री भएकाहरुलाई नेपाल प्रवेश गर्न रोक लगाइसकेको छ। 
३ पुस २०७८, शनिवार ०५:३७ बजे प्रकाशित












