मृतकका परिवारलाई किरिया खर्च

पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका ६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ।जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीका परिवारलाई किरिया खर्च उपलब्ध गराएको हो।

समितिका तर्फबाट एकमुष्ट १ लाख २० हजार किरिया खर्च उपलब्ध गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘मृतकको गाउँमै पुगेर किरिया खर्च उपलब्ध गराएका हौँ, संघीय सरकारले दिने राहतबाट कट्टी गर्ने गरी तत्कालका लागि राहत दिएका हौँ।’

संघीय सरकारले बाढीपहिरोबाट मृत्यु भएका प्रतिव्यक्तिलाई २ लाख १५ हजार र सोही घरका थप अरूको पनि मृत्यु भएको भएमा एक एक लाख थप राहत दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यही कात्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो। यस्तै शिवनाथ गाउँपालिकाले पनि मृतकका परिवारलाई जनही ५० हजार राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिए।

बैतडीमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो। शिवनाथका ३ र सुर्नया गाउँपालिका जना ५ की परुदेवी महराको मृत्यु भएको थियो। बाटो बन्द रहेकाले परुदेवीको परिवारलाई राहत दिन नसकिएको र केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

गत असोज ३१ गते रातिदेखि अविरल रूपमा ३ दिनसम्म परेको पानीले बैतडीका ठूलो क्षति पुगाएको छ।वर्षाले ४२ घरमा पूर्ण रूपमा क्षति भएको, ३१ चौपाया मरेका, ७ सय २५ रोपनी जमिन नासिएको, १२ खानेपानी योजना बगाएको, सबैजसो ग्रामीण सडक अवरुद्ध, १ सय ३७ ठाउँमा पहिरो गएको, करोडौँको बालीनाली क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रारम्भिक रूपमा क्षतिको विवरण आए पनि पूर्ण रूपमा विवरण संकलन भइरहेको भारतीको भनाइ छ।यस्तै रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासनका तर्फबाट पनि तत्काल राहत वितरण गरिएको थियो।


७ कात्तिक २०७८, आइतवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु