प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा जाँदै

सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाँदैछन् ।प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ ।त्यसपछि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था र सरकारले गर्नु पर्ने कामबारे छलफल गर्नेछन् ।

प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ लगायत रहनेछन् । प्रधानमन्त्रीसहितको टोली आइतबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम छ ।यसअघि प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिम क्षेत्रको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेर शुक्रबार काठमाडौं फर्किएका थिए ।


७ कात्तिक २०७८, आइतवार ०८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु