त्रिनगर भन्सार क्षेत्रमा चल्ने अटोरिक्सामाथि बढायो ट्राफिकले निगरानी
कैलालीको त्रिनगर नाका हुँदै स्वदेश फर्किने नागरिकबाट अटो तथा ई–रिक्सा चालकले चर्को भाडा असुल्न थालेपछि ट्राफिक प्रहरी कार्यालय कैलालीले निगरानी बढाएको छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु दसैँ तिहार नजिकिए सँगै घर फर्किन थालेका छन् ।
सोही मौका छोपी धनगढी उपमहानगरपालिका भित्र चल्ने अटो तथा ई–रिक्साले चर्को भाडा असुल्न थालेको गुनासोपछि ट्राफिक प्रहरी कार्यालय कैलालीले निगरानी बढाएको हो ।
भारतबाट फर्कने नेपालीहरूबाट अटो तथा ई–रिक्साहरूले नाकाबाट बसपार्क सम्म पुर्याएको भाडा शुल्क चर्को लिने गरेको जनगुनासो आएपछि आफूहरूले निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार त्रिनगर भन्सार क्षेत्रमा चल्ने सम्पूर्ण अटो तथा ई–रिक्सामा निर्धारित भाडा दर रेट लिस्ट यात्रुहरूले प्रस्ट रूपमा देखिने स्थानमा टाँस गर्न लगाइएको छ । भने अटो तथा ई–रिक्सा चालकलाई उक्त भाडा दर सम्बन्धी सम्झाई बुझाई गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।
साथै कुनै पनि अटो, ई–रिक्सा तथा सार्वजनिक सवारी साधनहरूले तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेमा तुरुन्त १०३ वा ०९१–५२१६९९ मा टेलिफोन गर्न हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।
४ असोज २०७८, सोमवार १७:२५ बजे प्रकाशित













