एक साताभित्रै दुई वटा प्रदेश सरकार ढल्छन् : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ता भित्रमा प्रदेश १ र बागमती प्रदेश सरकार ढल्ने बताएका छन्। एक साताभित्रै यी दुई प्रदेशका सरकार ढलेर संघीय सरकारले पूर्णता पाउने बताएका हुन्।
संविधान दिवसको अवसरमा पार्टीको कास्की जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिया तथा कार्यकर्ता भेटघाटमा नेपालले यस्तो बताएका हुन्।
प्रदेश र संघका तीनवटा सरकारमा पार्टीको सम्मानजनक उपस्थिति हुने भएकोले कोही पनि नेता तथा कार्यकर्ता आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो।
एमाले अध्यक्ष केपी ओलीको आलोचनाभन्दा बढी पार्टीको नीति तथा कार्यक्रममा जोड दिएका नेपालले अब एकीकृत समाजवादी पार्टी जनताले माया गर्ने पार्टी हुने र सोही अनुसार जनतासँग व्यवहार र जनताको सेवा गर्न निर्देशन पनि दिए।
गण्डकीमा पार्टीको आधार कमजोर भएको भन्ने गुनासो सुनिइरहेको र कार्यकर्तामा पनि त्यो आभाष भएको प्रति नेपालले चुनावमा टिकट बाँड्ने बेलामा नै धाँधली गरेकाले यस्तो भएको स्पष्ट पारे।
अध्यक्ष नेपालले ओली सरकारको पालामा भएका अर्बौंका भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग पनि गरेका छन्।
नेपालले वाइडबडी विमान खरिद गर्दाको भ्रष्टाचार आफ्नै अगाडि भएको दाबी गरे। ‘वाइडबडी विमान खरिद गर्दा भएको भ्रष्टाचारको साक्षी म आँफै छु, एउटा दररेटमा फाइल उठाउने र अर्कै दररेट भुक्तानी भएको छ, कारबाही छानबिन र कारबाही गर्नुपर्यो भन्दा फाइल दराजमा थन्क्याइएको छ,’ उनको आरोप थियो।
ओलीले नेपालमा कम्युनिस्ट पार्टीको अवस्था भारतको पश्चिम बंगालको जस्तो बनाउन लागेकोले आफुले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्ट पारे।
नेपालले पार्टीको जिल्ला कमिटिले घोषणा गरेको पिपुल्स भोलेन्टियर्स, समाजवादी मुस्लिम संगठन, अखिल फोर्सलाई सम्मान गरेका थिए। पार्टीले रञ्जित गुरुङ्को संयोजकत्वमा पिपुल्स भोलेन्टियर्स, प्रवेशजंग ठकुरीको संयोजकत्वमा अखिल फोर्स र फैजल मियाँको संयोजकत्वमा समाजवादी मुस्लिम संगठन घोषणा गरेको थियो।
३ असोज २०७८, आइतवार १७:५३ बजे प्रकाशित































