संविधान दिवसमा प्रधानमन्त्री देउवाको प्रतिवद्धता : चैतसम्ममा सबैलाई खोप
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै देउवाले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनमा सरकार प्रयत्नशील रहेको बताएका हुन्। संविधानको कार्यान्वयनबाट सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आजको आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
संविधान दिवसका अवसरमा देउवाले मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्दछु,’ प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
साथै देउवाले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ। यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ,’ सन्देशमा भनिएको छ।
प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहोर्याएका छन्।

३ असोज २०७८, आइतवार ०९:३७ बजे प्रकाशित












