निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला, दशरथचन्दमा दुई दिन बिदा
प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुुरु भएको छ। हरेक वर्ष अनन्त चतुर्दशीका दिन मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयादशीबाट सुुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ।
यो मेलालाई स्थानीय भाषामा ठूली जात भनिने र धेरै श्रद्धालुहरुले तीनरात मन्दिरमा बस्ने चलन रहेकाले निकै घुँइचो लाग्ने गरेको छ। जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन समेत छ। मेलामा निङ्गलाशैनी भगवतीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने र पूर्णिमाको बिहान फेरि भण्डार घरमै पुर्याइन्छ। साथै, सोराडी र बैतडाको जात यो मेलाको मुख्य आकर्षण हो।
निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको महिना लाग्ने जात्रामा बलि दिने चलन भए पनि जात्रामा भने बलि दिने चलन नरहेको स्थानीयबासी समेत रहेका दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए।
निङ्गलाशैनी भगवती मन्दिरमा हरेक महिना नित्य पूजाआजा हुने गरेको र विशेष पर्वहरुमा जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। दशैंको बेला महाष्टमीको दिन सो मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ।
यस्तै पौष शुक्ल पूर्णिमा, चैतको नवरात्री, अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासहित मेला लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थीहरु आउने गर्दछन्।
गत वर्ष भने कोरोना महामारीका कारण अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला पहिलो पटक रोकिएको थियो। यसैबीच जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले पनि असोज ३ र ४ गते सार्वजनिक बिदा समेत दिएको छ।
३ असोज २०७८, आइतवार ०९:२१ बजे प्रकाशित












